एजेन्सी: चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट यतिबेला विश्व आतंकित छ। यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ।
चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ।
उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो। गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेकाे जानकारी दिएको छ।
अघिल्लाे सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्।
ग्लोबल टाइम्सका अनुसार ११ सरकारी संस्थालाई यसकाे निःशुल्क परीक्षण र उपचारका लागि भनिएकाे छ।
के हो ब्रुसेलोसिस र कसरी फैलन्छ?
ब्रुसेलोसिस ब्याक्टेरियाले विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमण गर्छ। अनि संक्रमित जनावरको सम्पर्कमा पुगेपछि मानिसमा पनि सर्ने सम्भावना हुन्छ।