काठमाडौं: सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७ । ०७८ को नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको हो । मन्त्राालयले शुरुमा राष्ट्रिय ट्रमा सेन्टरबाट शुरु गरेको निःशुल्क उपचार आज कान्ति बाल अस्पतालबाट पनि शुरु गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ ल्याई निःशुल्क सेवा दिन थालेको हो । कान्ति बाल अस्पतालले पनि आकस्मिक सेवा लिनका लागि आज सूचना जारी गरेको छ ।
अस्पतालले केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गराउने कार्यविधि बमोजिम गरिब, विपन्न, साथमा कोही नभएकालाई प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने थालिएको जनाएको हो । निःशुल्क सेवाका लागि अस्पतालको आकस्मिक कक्षमा वा टिकट काउन्टरमा तथा सामाजिक सेवा एकाईमा सम्पर्क गर्न समेत अस्पतालले अनुरोध गरेको छ ।
