सुर्खेत: तीन दिन सम्मको लगातारको प्रयास पाछी अन्तत: हराएको भनिएको ११ नम्बरको नेपाल-चीन सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो ।
सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलले जनाएको छ । ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको हो ।
यता, सीमास्तम्भ भेटिए पनि चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।
‘टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ रहेछ, उनले भने।’
नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो ।
११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो । सुरक्षाकर्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो ।