काठमाडौँ: शान्ति मिसनमा गएका नेपाली सेनाका सहसेनानीको कुटाइबाट एक सिपाही सख्त घाइते भएका छन् ।
सहसेनानीत्रय इन्द्र थापा, सुभाष हुमागाईं र योगेन्द्र धितालले निर्घात कुटपिट गर्दा सैनिक तथा जवान नायक नवराज माझी सख्त घाइते भएका हुन् ।
माझीको फिला, तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ । उनले आफ्नै हाकिमबाट दैनिक कुटाइ खाने गरेको पनि बताएका छन् ।
दैनिक हुने निर्घात् कुटपिटबाट छुटकारा पाउन जतिसक्दो छिटो मुलुक फर्कनुबाहेक अर्को विकल्प नरहेको पीडितहरूले बताएका छन् ।
अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ।
शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।
घटना छानविनको लाथि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।
शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न सेनाले यो छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।
बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए। यो खबर सामाजिक सञ्जालमा आएपछि जंगी अड्डाले प्रारम्भिक रुपमा छानविन थाल्यो।
प्रारम्भिक छानविनमा सैनिक जवान र क्याप्टेनहरूबीच झगडा हुँदा कुटपिट भएको बुझिएपछि जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो।