काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से मंगलबार पनि घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्स मंगलबार ७.२१ अंकले घटेको छ ।
घट्दो बजारमा जलविद्युत कम्पनीको शेयरमूल्यमा भने लगानीकर्ता आकर्षित बनेका छन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् ।
लामो समयदेखि अंकित मूल्यभन्दा तल झरेका जलविद्युत कम्पनीको शेयरको भाउ बढ्न थालेपछि विस्तारै अंकित मूल्यभन्दा माथि पुग्न थालेको छ ।
मंगलबार कारोबार रकम १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सोमबार १ अर्ब ६९ करोडको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १३ करोड रुपैयाँले बढेको हो ।
आज कुल १९२ कम्पनी ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरीद बिक्री भएको छ । कारोबारमा आएका तीन उपसमूहका सूचक सकारात्मक बनेको बजारमा ९ वटा उपसमूहको सूचक ऋणात्मक रहेको छ ।
आज निर्जीवन बीमा उपसमुहको परिसूचक सबैभन्दा बढी ४४.९९अंकले घट्दा जीवन बीमा समुहको परिसूचक ४२.९६ अंकले ओरालो लागेको छ । लघुवित्त १३..५८ अंकले घट्दा बैंकिङ र होटल समान १० अंक बढीले घटेका छन् । घट्दो बजारमा जलविद्युत समुहको परिसूचकमा भने २८ अंकको वृद्धि भएको छ ।
बजार खुलेदेखि नै ओरालो गति समातेको नेप्से बजारको अन्त्यसम्म नै परिसूचक घटेर बन्द भएको छ । बीचमा केही सुधारको लक्षण देखिएपनि बिक्री चाप उच्च हुँदा बजारमा सूचक घट्न दबाब परेको थियो।