काठमाडौं: विजुली झ्याप्पझ्याप्प जान थालेपछि उर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका निमित कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दोस्रो पटक मन्त्रालयमै बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्।
उनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्। त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाब छ।
लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट पारे। ‘वितरण प्रणालीमा सानो भन्दा सानो गडबडी नआओस्’ उनले भने, ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होओस्।’
मन्त्री पुनले तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका हुन् ।
मन्त्री पुनले जरिवाना किन लगाएको, कुन आधारमा त्यस्तो निर्णय भएको हो भन्ने बारेमा समेत चासो राखेका थिए ।
कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन ।
कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिए ।
‘जरिवाना लिएको त्यो अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुस्’ , मन्त्री पुनले भने । उनले सो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन आग्रह गरे ।
