काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से लगातार तेस्रो दिन घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्से मंगलबार ७.२१ र बुधबार ३.१९ गरी कूल १५.१२ अंकले ओरालो लागेको हो ।
नेप्से सूचक घटेपनि पछिल्ला दिनमा आईपीओको आधासम्म मूल्य झरेका १८ कम्पनीको शेयरमध्ये नेशनल हाइड्रोपावर बाहेक सबै कम्पनीको शेयरमूल्य एक सय रुपैयाँ माथि पुगेको छ । नेशनल हाइड्रोपावरको भने ८ रुपैयाँ बढेर ९८ रुपैयाँ पुगेको छ ।
विश्व महामारीका कारण अधिकांश क्षेत्रको ब्यापार व्यवसाय प्रभावित बनिरहेको समयमा हाइड्रोपावर कम्पनीको सस्ता शेयरमा लगानीकर्ता आकर्षित बनेका हुन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् ।
बुधबार कारोबार रकम १२ करोड ३८ लाख रुपैयाँले बढेर १ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । मंगलबार १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज कुल १९० कम्पनी ८० लाख १९ हजार ६६१ कित्ता शेयर ३६ हजार १८१ पटक खरीद बिक्री भएको छ । कारोबारमा आएका चार उपसमूहका सूचक सकारात्मक बनेको बजारमा ८ वटा उपसमूहको सूचक ऋणात्मक रहेको छ । विकास बैंक र म्युचुअल फण्डको सूचक १ प्रतिशत धेरैले बढेको छ भने वित्त र जलविद्युतको सूचक पनि आज बढेका छन् । आज ब्यापार उपसमूहको सूचक १ प्रतिशत धेरैले घटेको छ ।