चितवन: चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको छ ।
देशभर प्रकोपको रुपमा फैलिएको फौजीकीरा नियन्त्रण गर्न वैज्ञानिक र प्राविधिकहरु अनुसन्धानमा खटिएका हुन् । उनीहरुले अनुसन्धानका लागि अहिले फौजीकीराको अण्डा सङ्कलन गरिरहेका छन् ।
विभिन्न तरिकाले अनुसन्धान र परीक्षण सञ्चालन गरिरहेको अनुसन्धान कार्यक्रमले फौजीकीराको अण्डा सङ्कलन गरेको जनाएको छ ।
विगतका वर्षहरुमा नेपाल भित्रिएको अमेरिकन फौजीकीराले देशभर मकै बालीमा ठूलो क्षति पु-याएको छ । अण्डा सङ्कलन गर्दा यसबाट हुने क्षति कम गर्न सकिने भएकाले सङ्कलन गरेको अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारीले बताए । अमेरिकन फौजीकीरा रातको समयमा बढी सक्रिय हुन्छ । यसले पातको तल्लो भागमा अण्डा पार्छ । कहिलेकाँही माथिल्लो भागमा पनि यसले अण्डा पार्छ । यसले एउटा मकैको पातमा १५० देखि २०० अण्डा पार्छ ।
१५ देखि २१ दिनको जीवन अवधिमा यसले १ हजार ५०० देखि २ हजार अण्डा पार्ने भण्डारीले जानकारी दिए । “अण्डा सङ्कलनगरियो भने यसको संख्यामा निकै कम गर्न सकिन्छ” उनले भने, “यसले क्षति कम हुनुका साथै रासायनिक विषादी प्रयोगमा न्यूनिकरण गर्न सकिन्छ ।” अण्डा सङ्कलन आइपिएम विधि भएको उनले बताए ।
