काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै आफुलाई कोरोना भाइरस संक्रमण लागेको घोषणा गरेका छन् । ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ ।
कोरोना भाइरस संक्रमणबाट बच्नका लागि विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुवातमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तिव्रता पाइरहेका बेला उनी एक्कासी संक्रमित भए ।
यसअघि आफ्ना सहयोगी होप हिक्समा कोरोना संक्रमण देखिएपछि ट्रम्पले बिहीबार राति आफ्नो क्वारेन्टाइन बस्ने योजना सुनाएका थिए । उनले भाइरसको फैलावटलाई लिएर पनि हल्का टिप्प्णी गरेका थिए ।
‘महामारी अन्त्य हुन लागेजस्तो देखिन्छ,’ कोरोनाका कारण भर्चुअल्ली आयोजना गरिएको वार्षिक अल स्मिथ डिनर कार्यक्रममा उनले भनेका थिए । यसअघि ट्रम्पले भाइरस छिट्टै बेपत्ता हुनसक्ने दाबी समेत गरेका थिए, जबकी ह्वाइट हाउसकै स्वास्थ्य विज्ञहरुले यी दाबीमा कुनै सत्यता नरहेको टिप्पणी गरे । एजेन्सी