काठमाडौँ: प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ।
सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।
प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले बताए।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उक्त निर्णयलाई भने सार्वजनिक गरिएको छैन।
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए।