काठमाडौं: दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
शुक्रबार समितिले आयोजना गरेको भर्चुअल छलफलमा समितिका सभापति कल्याणी खड्का लगायत समितिका सदस्यहरुका साथै भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्त कुमार नेम्बाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि र विज्ञ समेतको सहभागिता थियो ।
केही समय अघिमात्रै भएको अविरल बर्षाका कारण आएको बाढीपहिरो र यसले पुर्याएको क्षतिका कारण सार्वजनिक सवारी साधनको आवागमनमा असर पर्नसक्ने अवस्था रहेका कारण त्यसलाई सहज बनाउन र सार्वजनिक यात्राका क्रममा हुनसक्ने कोभिड संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिइएको समितिले जनाएको छ ।
सो निर्देशनमा बाढी पहिरोका कारण बन्द भएको सडक यातायातलाई सुचारु गर्ने, यात्रा गर्दा तथा खाना खाँदा तोकिएको स्वास्थ्य मापदण्ड पालना गराउने, सहज रुपमा टिकट काट्ने व्यवस्था गर्ने र अनलाइनमार्फत् टिकट बुकिंग गर्ने व्यवस्था समेत गर्ने, लामो दूरीका सवारीसाधनको फिटनेस टेष्ट अनिवार्य रुपमा गराउने व्यवस्था गर्ने लगायत विषय समावेश गरिएका छन् । त्यस्तै, बाढी पहिरोका कारण जोखिमयुक्त वस्तीका वासिन्दालाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।
