काठमाडौँ: तीन महिनादेखि बन्द तातोपानी नाका आजबाट सञ्चालन भएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन भएको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।
खासा क्षेत्रमा नेपाली ब्यबसायीका डेढ सयको संख्यामा मालबाहक कन्टेनर छन् । ती कन्टेनर नेपाल भित्राउन नाका खुल्न लागेको हो।
असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।
खासा क्षेत्रमा रहेको सामान चिनियाँ भन्सार एजेन्टले मितेरी पुलसम्म ल्याएर झारिदिन्छन् ।
मितेरी पुलबाट तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पिसिआर नेगेभिट रिपोर्ट आएका नेपाली मजदुरले लोड गरी ल्याउनेछन् । सामान लोड अनलोड गर्ने चिनियाँ र नेपाली मजदुरको प्रत्येक हप्ता कोभिड १९ परीक्षण भईरहने छ ।
तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले असोज १९ गतेबाट तातोपानी नाकाबाट दैनिक १६ वटा मालबाहक कन्टेनर नेपालीभूमि तातोपानी भन्सार कार्यालय भित्रिने बताए ।
नजिकिएको बिजया दशमी अघि खासा क्षेत्रमा अडकिएका सबै कन्टेनर नेपाल आईपुग्नेछन् ।
तातोपानी नाका २०७२ सालको भूकम्पले बन्द भएपछि दश हजारभन्दा बढी ब्यापारी, मजदुरहरु बिस्थापित हुनुपरेको छ । ०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द तातोपानी नाका २०७६ जेठ १५ गते खुलेको थियो । कोरोना महामारीको कारण देखाउदैं चीनले गएको माघबाट सो नाका बन्द गरेको थियो ।
यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ ।