काठमाडौं: मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिव चार महिनाको अवधिमा रोपिएको छ ।
आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् ।
गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्याउने गरेको उनले जानकारी दिए ।
राजधानीमा पनि वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन् । त्रिभुवन विश्वविद्यालयको प्राङ्गण कीर्तिपुर, राष्ट्रिय शहीद तथा शान्ति स्मारक गोकर्णलगायत उपत्यकाका विभिन्न नगरपालिकामा गरी करिब २० हजारभन्दा बढी बिरुवा बाँडिसकेको उनले जानकारी दिए।
गुर्जोका बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पुर्याउँदै आएका छन् । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।
