काठमाडौं: अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र डा केसीका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
आज विहान र दिउँसो ४ बजेपछि शिक्षा मन्त्रालयमा बसेको बैठक निकर्षविहीन भएको हो । लामो छलफलपछि पनि वार्ता नटुंगिएपछि शुक्रबार पुनः छलफल गर्ने शिक्षा सचिव गोपीनाथ मैनालीले बताए ।
वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा थिए ।
यस्तै डा केसीको तर्फबाट उनका प्रतिनिधिहरु डाक्टर जीवन क्षेत्री, डाक्टर अञ्जनी कुमार झा, डाक्टर लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी थिए ।
डा केसीको तर्फबाट वार्तामा सहभागी डाक्टर अञ्जनी कुमार झाले वार्ता सकारात्मक भएको बताए ।
उनले भने, “डा केसीका हरेक मागको विषयमा छलफल भएको छ, वार्ता सकारात्मक नै छ, अब वार्तामा भएका कुराहरु डा केसीलाई सुनाउन बाँकी छ, शिक्षा सचिवज्यू पनि बाहिर निस्किनुभयो, अब हामी पनि डा केसीसँग कुरा गर्न जान्छौं ।”
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै डा केसीले भदौं २९ गतेदेखि अनसन शुरु गरेका थिए । डा केसीको अनसनको बिहीबार २५ औं दिन हो । लामो समयदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।