काठमाडौं: अपि पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १ बराबर ०.४८ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दार्चुलामा निर्माण गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि अपुग रकम जोहो गर्न हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत आश्विन १८ गते स्वीकृत प्राप्त गरेको छ । कम्पनीका अनुसार २०७६ फागुन ३० गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ सेयरबराबर नयाँ ०.४७६१९०४७६१९ (१ : ०.४७६१९०४७६१९) अनुपातमा सेयर जारी गर्न लागेको ।
७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो चमेलियामा कूल लागतमध्ये ३० प्रतिशतले हुने २ अर्ब २२ करोड करोड रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ । बाँकी ७० प्रतिशतले हुने ५ अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंक लिमिटेडको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट जुटाइएको छ ।
दार्चुलाको अपि हिमाल पग्लेर मार्मा गाउँपालिका भई बहने चमेलिया नदीको पानी उपयोग गरी अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा आयोजनाको बाँध बन्नेछ । ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपमार्फत नदीको पानी फर्काइ मार्मा गाउँपालिकाको घट्टेगाढमा विद्युतगृह निर्माण हुनेछ ।
त्यहाँबाट उत्पादित विद्युत् १६ किलोमिटर लामो १३२ के.भी. प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । विद्युत् बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी हुनेछ । आम्दानीमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले बृद्घि हुँदै जाने प्रावधान छ ।
सय रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण सेयरको निष्काशन तथा बिक्री खुला हुनेछ । कम्पनीका अनुसार आगामी कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म गरिनेछ । कम्पनीको हालको अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ४ अर्ब र चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ ।
