काठमाडौँ: प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन्।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए। केही दिनभित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागू हुने उनले जानकारी दिए।
‘प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ’, उनले भने, ‘यसपालि कोभिड–१९ को संक्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ।’
केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले जानकारी दिए।
यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ। प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ। सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ। मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। कोभिड–१९ संक्रमण रोक्ने योजनासमेत बन्नेछ।