काठमाडौं : कर्णाली प्रदेशमा नेकपाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन ।
उनी विरुद्ध १८ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । नेकपाका प्रदेश सभासदहरुले आज आइतबार मुख्यमन्त्रीलाई बोधार्थ र पार्टी प्रदेश संगठन कमिटीलाई जानकारी गराई अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।
अविश्वास प्रस्तावमा प्रदेश सांसद यमलाल कडेलसहित १८ सांसदले हस्ताक्षर गरेर सो पत्र संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाउनु भएको छ । त्यसपछि सांसदहरुको टोली दिउँसो प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका थिए ।
नेकपा संसदीय दलको नेतामा शाही निर्वाचित भएसँगै पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।
प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगरलगायत १८ जना छन् ।
हस्ताक्षरकर्ताहरु पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।
उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ ९१० बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन्।