धनगढी, कात्तिक ४ गते: गोविन्द बिक (वर्ष, २८) प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो ।
बिकको सफलताले परिवारमात्रै खुशी थिएन । सिङ्गो दलित समुदायनै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नु भएको थियो, उहाँले । त्यहि कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन । तर, परिवारको त्यो खुशी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ ।
गस्तीमा गएको बेला विभत्स हत्या भएको छ, बिकको । उहाँसंगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यहि नियति भोग्नु प¥यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले विरगति प्राप्त गर्नु भएको छ । मोहना नदी, दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरुको गत शनिवारराति विभत्स हत्या गरेर नदीमा फालेका थिए ।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत हुनुहुन्थ्यो । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसमान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ ।
कर्तव्य पालनाको सिलसिलामा हत्या भएपछि मृतक दुवै जनाको परिवार अहिले विक्षिप्त बनेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ सुकुम्बासी टोल ख गाउँमा बिकको आमा र श्रीमती तीनदिनदेखि बेहोस हुनुहुन्छ । घटनाले, परिवारमात्रै हैन सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।
‘गस्तीमा जानू भएका हाम्रो दाईकोमात्रै हत्या भएको छैन’, मृतक बिकका भाइ नरेशले भन्नुभयो । ‘घरमा रहेका अरु १२ जना सदस्यको पनि हत्या भएको छ । घरको लागि कमाई गर्ने एक्लो व्यक्तिको मृत्युले हामीहरु सबै मरेतूल्य भएका छौं ।’
निष्ठापूर्वक प्रहरी सेवामा लागेकै कारण आफ्नो दाईले ज्यान गुमाउनु परेको उहाँले बताउनुभयो । ‘यदि, मेरो दाईले घुस वा कमिसन लिन जानेको भए ड्युटीमा हत्या हुने थिएन’, नरेशले भन्नुभयो ।
घरमा ५० वर्षीया आमासहित १२ जना सदस्य छन् । जसमध्येका छ र तीन वर्षीया दुई कलिला मुना बिकको छोरीहरु हुन । मृतक बिक परिवारको आशाको त्यान्द्रो हुनुहुन्थ्यो । उहाँलाई आमाले धेरै दुःखकष्ट गरेर प्रविनता प्रमाणपत्र तहसम्म पढाउनु भएको थियो । पढेर छोरो जागिर खाने आशा थियो, आमा कलावतिको ।
‘आमाको सपना साकार पार्न दाजुले धेरै मिहिनेत गरेर असइमा नाम निकाल्नु भएको थियो’, नरेशले भन्नुभयो । ‘उहाँको हत्याले हाम्रो एउटै आशाको दीयो सदाको लागि निभिएको छ ।’
मृतक प्रहरीकी आमा दमको रोगी हुनुहुन्छ । भारतमा मजदुरी गर्न गएको बेला २० वर्ष अगाडि नै बुबाको मृत्यु भएपछि रोगी आमाले दाउरा बेचेर दाई गोविन्दलाई पढाएको नरेशले बताउनुभयो । ‘आम्दानी केही थिएन । रोगी आमाले दाउरा बेचेर दाईको लागि पढाई खर्च जुटाउनु हुन्थ्यो’, उहाँले भन्नुभयो । ‘त्यत्रो सङ्घर्षले मिलेको हाम्रो खुशी छिन्ने हत्याराहरुलाई हदैसम्मको कारबाही हुनु पर्दछ ।’
उता, अछाममा रहेका प्रहरी जवान साउँदको परिवार पनि शोकमा डुबेको छ । श्रीमान बेपत्ता भएको खबर पाए लगत्तै सोमबार धनगढी पुग्नु भएकी मृतककी श्रीमती विक्षिप्त हुनुहुन्छ । मृतक साउँदको पनि दुई छोरीहरु रहेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउँद २०६७ सालबाट प्रहरी सेवामा हुनुहुन्थ्यो ।
बिक अस्थायी प्रहरी पोष्टमा गत भदौमामात्रै खट्नु भएको थियो भने, साउँद त्यहाँ पहिल्यैदेखि कार्यरत हुनुहुन्थ्यो ।
हत्याको आरोपमा सात जना पक्राउ
प्रहरी हत्याको आरोपमा सात जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र वडा नम्बर ११ का गोपाल भन्ने रामगोपाल राना रहेका छन् । उनीहरु सबै स्थानीय तस्कर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरुले योजनावद्ध रुपमा धारिलो हतियार प्रहार गरेर प्रहरीकै हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताउनुभयो । उहाँले धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीबाट करिब ४०० मिटर उत्तरमा प्रहरीको हत्या गरेर अपराध लुकाउनका लागि शव मोहना नदीमा फालेको बताउनुभयो । असइ बिकको शव आइतबार र जवान साउँदको मङ्गलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा शव फेला परेको थियो ।
घटनामा अरु व्यक्ति संलग्न रहे÷नरहेको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले उल्लेख गर्नुभयो । घटनाबारे अनुसन्धानका लागि प्रहरीले आपराधिक पृष्ठभूमिका १६ जनालाई नियन्त्रणमा लिएको थियो ।