काठमाडौँ: विशेष विमानबाट काठमाडौं ओर्लेको केही घण्टापछि नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन्।
कुटनीतिक स्वीकृति लिएर बुधबार करिब पौने एक बजे गोयल विशेष विमानबाट आफ्नो नौ सदस्यीय टोलीसहित काठमाडौं ओर्लेका थिए। उच्च सुरक्षा स्रोतहरूका अनुसार लगत्तै काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिका होटलमा चेकइन गरेर केही समय आराम गरेका उनी त्यसपछि लैनचौरस्थित भारतीय दूतावास गएका थिए।
सुरक्षा स्रोतहरूले गोयलका लागि द्वारिका होटलमा कोठा बुक गरिएको बताएका छन्। तर होटल हायातका उच्च तहका कर्मचारीहरूले भने हायातमा गोयलको टोलीका लागि सुनिल गोयलको नाममा दुई वटा स्वीटसहित ८ वटा कोठा बुक भएको र उनीहरू दिउँसो २ बजे त्यहाँ पुगेको दाबी गरेका छन्। अर्का एक सुरक्षा अधिकारीले भने गोप्य भेटघाटको प्रयोजनका लागि दुई वटै होटलमा केही कोठा बुक भएको हुनसक्ने बताए।
दिउँसो करिब साढे ४ बजे गोयलले सोल्टी होटल पछाडिको एउटा घरमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ नेता तथा अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेको बेग्लाबेग्लै सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन्।