काठमाडौँ: काठमाडौं आसपासका क्षेत्रमा यतिवेला किसानले लगाएको सयपत्री फुल फुलिसकेको छ ।
यसवर्ष अधिकमास परेका कारण दसैँ र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेतिगर्दै आएका छन् । तर यसपटक फूल फुल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फुल सुकिसक्ने देखिएको छ ।
फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दशैंको समयमा फूल प्रयोग र विक्री कम हुन्छ ।
काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खे ितगर्दै आएका छन् । यस क्षेत्रका किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दसैँमा फूलको प्रयोग कम हुने र तिहार सम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानी समते घट्ने भएको छ ।
अहिले फूल ढकमक्क फुलिसकेको छ र बढीम एक हप्ता सम्म मात्र बोटमा रहन सक्छ । टिपिसकेको फूल बढीमा तीन दिन मात्र रहन सक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरो पनि किसानहरुलाई परेको छ । इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा विक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले विक्री गरेका किसानले यो वर्ष ५ रुपैयाँले बेच्छु भन्दापनि ग्राहक पाउन नसकेको गुनासो गरे ।
काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना ठूला मन्दिरहरुमा चाडपर्व बाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फुल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ । तर यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । इचङ्गु क्षेत्रसँगै काठमाडौँको दक्षिणकाली छैमले क्षेत्रबाट पनि फूल आउने गर्दछ ।
यस क्षेत्रको किसानको बैकल्पिक आयको स्रोत पनि फूल नै हो । किसानहरुले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यवसायिक रुपमा फूल खेतिगर्दै आएका किसानहरु पनि फूलविक्री नभएपछि चिन्तित छन् ।