काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा नेपाल आएर प्रधानमन्त्री केपी ओलीसँग भेटेको बताएका छन्।
‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअका प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे। यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो। विरोधको योजना हो या नियती? बुझ्न गाह्रो भो’, पोखरेलले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौं। नेपाल र भारत बीचको सीमा समस्याको परिणाम सुखद होस्, कामना गरौं।’
भारतीय सेनाको विशेष विमानबाट बुधबार काठमाडौं आएका गोयलले मध्यराति प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा गोप्य भेटवार्ता गरेपछि सत्तारुढ र विपक्षी पार्टीबाट त्यसको चर्को विरोध भइरहेका बेला पोखरेलको भनाइ सार्वजनिक भएको हो।
पोखरेलले गोयल भारतीय प्रधानमन्त्री मोदीको सन्देश लिएर नेपाल आएको र प्रधानमन्त्री ओलीसँग नेपाल–भारत सीमा समस्याबारे छलफल गरेको संकेत गरेका छन्। तर गोयलले ल्याएको सन्देश के थियो र प्रधानमनत्री ओलीसँग सीमा समस्याबारे के छलफल भयो खुलाएका छैनन्।
रअ प्रमुख गोयललाई नेपाल भ्रमण गर्न उडान अनुमति दिएपनि नेपाल सरकारका कुनै पनि निकायले उनको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएका थिएनन्।
बुधबार मध्यराति प्रधानमन्त्री ओलीले बालुवाटार निवासमा निम्त्याएर गोयलसँग ३ घण्टा भेटवार्ता गरेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘शिष्टाचार भेट भएको’ भन्दै प्रेस नोट जारी गरेका थिए, जसबाट भेटवार्ता भएको पुष्टि भएको थियो।