काठमाडौं : कोरोना कहरपछि लागेको लकडाउनका कारण समस्यामा परेका रोजगारबिहीन र असहायलाई खान खुवाउने कार्यक्रम रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको सामाजिक सञ्जालमार्फत सबैले विरोध जनाएका छन ।
महानगरपालिकाले असहाय र बेरोजगार मजदुरको खानपानको जिम्मा लिनुपर्नेमा भइआएको समाजसेवालाई रोक्न खोजेको भन्दै राजनीतिक दलका नेता लगायत सर्वसाधारणले समेत यसमा प्रतिक्रिया जनाएका छन ।
साझा पार्टीले आज मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै नागरिकको स्तरबाट भएको परोपकारी कामलाई रोक्न खोजेकोमा महानगरको निर्देशनको आलोचना गरेको छ । केही परोपकारी समूहले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ’, साझाको विज्ञप्तिमा भनिएको छ ।

साझा पार्टीले सरकारले गर्नुपर्ने तर नागरिक स्तरबाट भइरहेको कामलाई रोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाएको हो । यसलाई उसले अमानवीयताको पराकाष्ठाको संज्ञासमेत दिएको छ ।
महानगरको यो निर्देशनको विरोधमा साझा पार्टीले भोली बुधबार बिहान र बेलुका खुला मञ्चमा खुवाइने खानाको खर्च बेर्होने समेत भएको छ । शान्तिपूर्ण र मानवीय कार्यलाई कसले रोक्छ भन्दै उसले महानगरप्रति आक्रोससमेत व्यक्त गरेको छ ।
यसैबीच कांग्रेसका नेता गगन थापाले पनि विषम परिस्थितिमा यस्ता परोपकारी कामलाई निरन्तरता दिन ट्विटरमार्फत आग्रह गरेका छन ।

वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले समेत खुलामन्चमा भोजनको व्यवस्था गर्नेको प्रशंसा गर्दै महानगरपालिकाले त्यसमा व्यवधान किमार्थ गर्न नहुने ट्विटमा लेखेका छन ।
त्यस्तै रत्नसंसार श्रेष्ठले भन्दै सामाजिक सञ्जालमा भेटेको कुरालाई उद्धृत गर्दै ट्विटमा लेखेका छन, ‘काठमाडौंका मे,रलाई कोरोना लाग्दा सपरिवार सोल्टी होटलमा गएर भात खाए, यिनलाई बाटोमा भारत खाएको देख्दा लाज नलागेर के लाग्छ त ?’