काठमाडौं : नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोकका विभिन्न कार्यक्रम मनाउने निर्णय गरेको हो।
आज मंगलबारदेखि बिहीबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसले जनाएको छ।
बुधबार केन्द्र र जिल्लाका कार्यालय बन्द रहने जनाइएको छ। १३औं दिनमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।