काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।
‘सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईँहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,’ उनले भने, ‘मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’
उनले आफूले राजीनामा नदिने कुरा पटक पटक दोहोर्याइरहेको समेत बताए।
‘मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै मागिरहेका छन् भन्ने सुन्छु है। तयारी गर्दै छन्। यो तयारी अन्तिममा के हुनेछ… केही पनि हुनेवाला छैन,’ ओलीले भने।
उनले आफ्नो रहरले प्रधानमन्त्री नभएको भन्दै जनताको आवश्यकता र समर्थनले भएको दाबी गरे।
‘यहाँ पुर्याएको म जालझेल तिकड्मबाट होइन। यहाँ पुगेको ब्यापक जन समर्थनबाट हो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस्। यो सरकार यस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि।’
उनले आफूलाई हटाउन धेरै प्रयासहरु भइरहेको संकेत पनि गरे।