काठमाडौँ: तपस्वीको भेषमा आफ्ना अनुयायीमाथि बलात्कार गर्ने, हत्या गर्ने, बेपत्ता पार्ने र शारीरिक मानसिक यातना दिने आरोप लागेका रामबहादुर बमजनविरूद्ध जिल्ला अदालत सर्लाहीले वारेण्ट जारी गरेको चार महिना पुग्यो।
अहिलेसम्म पक्राउ परेर वा आफैं उपस्थित हुन बमजन अदालतमा नआएको जिल्ला अदातल सर्लाहीका श्रेष्तेदार शिवहरि पौडेलले बताए।
गएको असारमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बमजनविरूद्ध रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोग लगाउँदै मुद्दा दायर गरेपछि जिल्ला अदातलले असार २१ गते वारेन्ट जारी गरेको थियो।
पक्राउ गर्न वा अभियुक्तको ठेगानामा म्याद तामेल गर्न अदालतले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई लेखेको थियो। बमजनको स्थायी ठेगाना बारा जिल्ला निजगढ नगरपालिकाको-१२ मा म्याद तामेल गर्न सर्लाही प्रहरीले बारा प्रहरीलाई लेख्यो।
सर्लाही प्रहरीले भने असार २३ गते नै बमजनसहित मुद्दाका अरू प्रतिवादीहरूको मा पनि म्याद तामेल गर्न विभिन्न जिल्लामा पठाएको बतायो।
बमजनको स्थायी ठेगाना (बुवाआमाको घर) मा म्याद थमाउन त्यहाँको बारा प्रहरीलाई लेखी पठाइएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी मदन कुँवरले जानकारी दिए।
बारा जिल्ला प्रहरीले निजगढको इलाका प्रहरी कार्यालयमा पठायो। उक्त इलाका प्रहरी कार्यालयले भने आफूलाई ३५ दिने वारेन्ट आएको र अहिलेसम्म बमजन फेला नपरेकाले अब घरमा लगेर म्याद टाँस गरिदिने बताएको छ।
‘हामीलाई पक्राउ गर्न भन्दै ३५ दिने म्याद आएको थियो। ठ्याक्कै आज ३५ दिन पुग्यो। अहिलेसम्म बमजन भेटिएनन् अब हामीले भोलि नै रतनपुरीस्थित उनको घरमा म्याद टाँसेर मुचुल्का उठाएर सर्लाही प्रहरीलाई पठाइदिन्छौं,’ इलाका प्रहरी कार्यालय निजगढ बाराका इन्सपेक्टर विकास थपलियाले भने।
उनलाई ३५ दिने म्याद दिएर म्याद तामेली गर्ने इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
गंगामायाले गएको असारमा बमजनविरूद्ध बलात्कारको जाहेरी दिएपछि सर्लाही प्रहरीले आवश्यक अनुसन्धान गरी सरकारी वकिललाई प्रतिवेदन पेश गरेको थियो। बमजनलाई खोजेर नभेटेपछि प्रहरीले प्रतिवेदनमात्र पेश गरेको थियो।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।
मुद्दा दायर भएपछि प्रतिवादीहरूलाई अदालतले नै पक्राउ वारेन्ट वा उपस्थित हुने म्याद जारी गर्नुपर्ने कानुन छ।
बमजनको स्थायी ठेगानामा लगेर म्याद तामेल गर्ने काम प्रहरीले गर्यो भने बमजनविरूद्धको बलात्कार मुद्दामा अदालत अघि बढ्न सक्छ।
‘अदालतमा बमजन आफैं उपस्थित हुन आए वा प्रहरीले उनलाई पक्राउ गरे मुद्दा अघि बढ्छ। नभए प्रहरीले उनलाई अदालतमा आउन भन्दै स्थायी ठेगानामा म्याद तामेल गरेको मुचुल्का पेश गर्यो भने पनि कानुन अनुसार यो मुद्दा पेशी र सुनुवाइ प्रक्रियामा जान्छ,’ सर्लाही अदालतका श्रेष्तेदार पौडेलले भने।
म्याद तामेल भएपछि बाटोको म्यादबाहेक ३५ दिनभित्र बमजन अदालतमा उपस्थित नभए पनि सुनुवाइ अघि बढेर फैसला हुन सक्छ।