काठमाडौँ: कोरोना संक्रमणका कारण काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन भएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा. झाको आज बिहान र डा. थापाको शनिबार राति निधन भएको हो।
बिरामीहरूको उपचारकै क्रममा कोरोना संक्रमण भई उनीहरूको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूको मृत्युले देशलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले पीडित परिवारमा समवेदना प्रकट गरेको छ।