काठमाडौँ: नेवार समुदायका कतिपयले मंगलबार भाइटीका लगाउँदै छन्। आज नेवारी समुदायले किजा पूजा पनि गर्दैछन्।
किजा पूजा र कतिपय नेवार समुदायले आजै भाइटीका लगाउने भएकाले सरकारले आज (मंगलबार) देशैभरी सार्वजनिक बिदासमेत दिएको छ।
मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाइँन्छ। तर, यस वर्ष तिथि गटबढको कारण कतिपय नेवार समुदायले आज पनि भाइटीका लगाउन लागेका हुन्। यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो।
सोमबार म्ह (आत्म) पूजा गरेका नेवार समुदायहरुले आज भाइटीका लगाउन लागेका हुन्। धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।
भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ।