काठमाडौं: लगातार घट्न थालेको सुनको मूल्यमा आइतबार सामान्य बढोत्तरी भएको छ। ३ सय रुपैयाँले बढेर आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमै बढेकाले सुनको भाउ सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा भएको थियो। गत बुधबार प्रतितोला ९५ हजार १ सय रूपैयाँ प्रतितोला पुगेको सुन विस्तारै घटेको थियो।
चाँदीको मूल्य भने आइतबार स्थिर छ। गत शुक्रबार ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सोही मूल्यमा स्थिर छ। गत बुधबार १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी पनि मूल्यमा सामान्य गिरावटको अवस्थामा थियो।
कोभिड-१९ विरुद्ध भ्याक्सिन तयार भएको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहेको छ। केही दिनदेखि घट्न थालेको सुनको मूल्य आइतबार ३.८ डलरले बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज बिहान सुन प्रतिऔंस १८७०.८२ डलरमा कारोबार भएको छ। यस्तै चाँदी प्रतिऔस २४.१६ डलरमा कारोबार भएको छ। गत शुक्रबार सुन प्रतिऔंस १८६७ .४२ डलर र चाँदी २४. १७ डलरमा कारोबार भएको थियो ।
