काठमाडौँ: आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छपाइका लागि आह्वान गरेको टेण्डरमा नेपाली कम्पनीलाई ‘बाइपास’ गरिएको भन्दै सेक्युरिटी प्रिन्टिङसँग आबद्ध व्यवसायीले असन्तुष्टि जनाएका छन् ।
आन्तरिक राजस्व विभागले गत असोज २८ गते प्रकाशित गरेको अन्तरराष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने शर्तहरू राखिएको उनीहरुको आरोप छ ।
सार्वजनिक खरीद ऐनमा समेत नेपाली उद्यमीका लागि सकारात्मक विभेदको व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि त्यसलाई बेवास्ता गर्दै उक्त बोलपत्र आह्वान गरिएको उनीहरूको भनाई छ । नेपाली उद्यमीहरूले अन्तःशुल्क स्टिकर छाप्न सक्ने योग्यता पुष्टि गर्न मौका नदिई तथा विस्तृत अध्ययन अनुसन्धानबाट छाप्न नसक्ने पुष्टि नै नगरी पुनः विदेशीलाई ठेक्का दिने गरी टेन्डर आह्वान गरिएकोप्रति व्यवासयीले गम्भिर असन्तुष्टि व्यक्त गरेका हुन ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा मिराज प्रिन्टिङ सोलुसनका निर्देशक मनोहरराज घिमिरेले आन्तरिक राजश्व विभागले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश, अख्तियार दुरुपयोग अनुसनधान आयोग र संसद्को सार्वजनिक लेखा समितिको निर्देशन विपरीत बोलपत्र आह्वान गरेको बताए । अन्त शुक्ल स्टिकर भन्दा जटिल किसिमका वस्तुहरु नेपालमा नै छपाई हुँदै आएकोमा नेपाली उद्यमीलाई अविस्वास गरि अन्तराष्टिय बजारका केही सिमित खेलाडीकोबीचमा मात्रै प्रतिस्पर्धा गराउने उदेश्यले टेण्डर आह्वान गरिएको उनीहरुको आरोप छ ।
