काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ कार्यान्वयन गर्न निर्देशन दिएको छ । सरकारले गत कात्तिक २७ गते स्वीकृत गरेको कार्यविधि कार्यान्वयन गराउन केन्द्रीय बैंकले निर्देशन दिएको हो।
राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि‚ २०७७ कार्यान्वयन ल्याएको हो । यो कार्यविधि अनुसार कोरोना प्रभावित व्यवसायीलाई ५० अर्ब रूपैयाँ बराबरको सहुलियत कर्जा प्रदान गरिनेछ ।
कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कोभिडबाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुत्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय संचालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एंवम पर्यटन व्यवसायलार्य कर्जा प्रदान गरिनेछ।
कार्यविधिमा अतिप्रभावित क्षेत्रको रुपमा श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम १० करोड रुपैयाँसम्म प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
यस्तै, मध्यम प्रभावित क्षेत्रको रुपमा श्रमिक वा कर्माचरीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम ७ करोड रुपैयाँसम्म प्रदान गर्न सक्नेछन्।
न्यून प्रभावित क्षेत्रका रुपमा श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम ५ करोड रुपैयाँसम्म प्रदान गर्न सकिनेछ।
यस्तो कर्जा आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म मात्रै प्रवाह गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस कार्यविधि अनुसार परिचालन हुने कर्जाको ५० प्रतिशत अतिप्रभावित, ३० प्रतिशत मध्यम र २० प्रतिशत न्यून प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्नेछ ।
यसरी प्रदान गरिने कर्जाको ब्याजदर पहिलो वर्ष ५ प्रतिशत र दोस्रो बर्षका लागि ६ प्रतिशत तोकिएको छ । कर्जा प्रदान गर्ने संस्थाहरुलाई पहिलो वर्ष २ प्रतिशत र दोस्रो वर्ष ३ प्रतिशत ब्याजदरमा रकम उपलब्ध गराइने उल्लेख छ ।
यस खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट लिने रकमको लागि त्यस्तो संस्थालाई बढीमा पाँच प्रतिशत ब्याज उपलब्ध गराइनेछ ।यस्तो खाताबाट प्रदान गरिने भुक्तानी अवधि बढीमा २ वर्षको हुनेछ । तर सरकारी निकाय, बैंक वित्तीय संस्था, वा कुनै पनि दातृ निकायबाट सहुलियतपूर्ण व्याजदरमा कर्ता तथा सहायता उपभोग गरिरहेका व्यवसायीहरुले उक्त कर्जा पाउन सक्ने छैनन् ।
