भैरहवा: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक अहिले अप्ठ्यारो परिस्थितिमा रहेकाले सबै कर्मचारीले राज्यको काँध थाप्नु पर्ने बेला भएको बताएका छन्।
बिहीबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रण गरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रह गरेका हुन्।
‘यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, अझ कर्मचारी साथीहरुको विशेष भूमिका हुन्छ। त्यसैले तपाईंहरुले दृढताकासाथ काम गर्नोस्’, उनले भने।
मन्त्री पौडेलले आफूले कहीँकतै हस्तक्षेपकारी भूमिका नखेल्ने जनाउँदै कामको परिणाम चाहिएको जनाए।
‘मैले सबैलाई भन्ने गरेको छु, कहीँकतै मबाट असहयोग भन्ने हुँदैन तर कर्मचारी साथीहरुले गुनासो नआउने गरी परिणाम निस्कने गरेर काम गर्नुस्’, उनले भने।
मन्त्री पौडेलले काम गर्ने क्रममा कहीँकतै लोभलालचमा नपरी राजश्व संकलनमा लाग्नसमेत निर्देशन दिए।
‘काम गर्ने क्रममा तपाईंहरु कतै लोभलालचमा नपर्नुहोला, आफ्नो भूमिका सही ढंगले निभाउनुहोला, गुनासो सुन्न नपरोस्’, उनले भने। नेकपा महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले बजेटमा स्रोत व्यवस्थापन गर्न धौधौ भइरहेको जनाउँदै स्रोत व्यवस्थापन गर्न नसके राष्ट्रकै आर्थिक जीवनमा अवसर पर्ने बताए। उनले यसका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे।
मन्त्री पौडेलले भन्सारका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको भन्दै बजेट अभावले काम हुन सकेन भन्ने अवस्था आउन नदिने जनाए। उनले भैरहवा नाकामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण अघि बढाउन पहल भइरहेको बताए।
‘नेपालगञ्जमा आईसीपी निर्माण सुरु गर्दा भैरहवामा पनि उद्घाटन गर्ने नेपाल सरकारको चाहना थियो। तर हामी एक्कैले गरेर हुँदैन। यस विषयमा भारतसँग पहल गर्नेछौं’, उनले भने।
१५ वर्ष अघि भारत सरकारको लगानीमा भैरहवा नाकामा आईसीपी निर्माण गर्ने सम्झौता भए पनि भारतीय पक्षको उदासीनताका कारण काम अघि बढ्न सकेको छैन। जसले गर्दा भैरहवा भन्सारको दैनिकी कामहरु सहजरुपमा हुन सकेको छैन।