ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ ।
आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् ।
“सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर साट्न आउँथे र आलु लिएर फर्किन्थे । यस वर्ष बीउ राख्न पनि पाइएन, ” घुन्साका हिमाली चुङदाकले भने ।
उनका अनुसार आलु उत्पादन हुने अधिकांश क्षेत्र खर्कमा परिणत हुन थालेका छन् । “आलु फल्न छाडेपछि खम्बाचेन र फलेका केही भाग खर्कमा परिणत भएका छन्, घुन्सामा यस वर्ष एक मुरी बीउ रोप्दा दश पाथी पनि राम्रो आएन, यस्तै अवस्था रहिरहे हिमाली क्षेत्रका बासिन्दालाई समस्या आउने देखिन्छ”, उनले भने ।
सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने घुन्सालगायतका बासिन्दा पशुपालनसँगै आलुखेती गर्छन् । विगतमा वर्षभर पुग्ने अन्नपात आलुले नै जुटाउने घुन्सावासी यो वर्ष आफैँका लागि छ दिनसम्मको समय खर्चेर याङ्मादेखि आलु बोक्न बाध्य बने ।
“आफू पनि खानु पर्यो, आउने पर्यटकलाई पनि खुवाउनै पर्यो, यो वर्ष आलु नफल्दा याङ्मादेखि पनि ल्यायौँ”, स्थानीयबासी टाँसी शेर्पाले भने।
करिब तीन हजार ४०० मिटरको उचाइमा पर्ने घुन्सामा मात्र एक सिजनमा १०० मुरीभन्दा बढी आलु उत्पादन हुन्थ्यो ।
