काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएका केहि गम्भीर समस्याका विषयमा जनआन्दोलन र संविधान निर्माणमा सहभागी राजनीतिक दलहरुको एक सर्वदलीय बैठक आयोजना गर्नुपर्ने बताएका छन।
आइतबार नेकपा कार्यालयमा भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सो धारणा राखेका हुन्।
अहिले कोरोना महामारीको कारण उत्पन्नल संकटदेखि सडकमा अहिले संविधानका मुलभूत विषयकै विरोधमा भइरहेको विरोधबारे छलफल गर्न सर्वदलीय बैठक आवश्यक देखिएको उनले बताएका छन्।
‘गणतन्त्र र संघीयताको विरोधमा सडकमा भैरहेको प्रदर्शनको विषयमा बैठकमा कुरा उठेपछि दाहालले जनआन्दोलन र संविधान जारी गर्ने दलहरुको बैठक राख्ने बताउनु भयो,’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘ठ्याक्कै मिति नभने पनि अर्को स्थायी कमिटीको बैठकअघि नै यस्तो बैठक गरिने उहाँको आशय थियो।’
बैठकमा स्थायी कमिटी सदस्य जनार्दन शर्माले सडकमा गणतन्त्रको विरोधमा भैरहेको आन्दोलनको विषयमा छलफल हुनुपर्ने र बैठकले भर्त्सना गर्नुपर्ने माग राखेका थिए।
तर अन्य सदस्यहरुले भने अहिले भइरहेको सडक आन्दोलनलाई धेरै महत्व दिन आवश्यकता नरहेको बताएका थिए।
कोरोनाको महामारी सुरु हुने वित्तिकै पनि प्रचण्डले सर्वदलीय संयन्त्र निर्माणको विषय उठाएका थिए।