काठमाडौं: नेपाललाई गर्दै आएको विकास सहायता वृद्धि गर्न फिनल्यान्डले प्रतिबद्धता गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार गरेको शिष्टाचार भेटघाटमा उक्त प्रतिबद्धता गरेका हुन्।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।
यस्तै अर्थमन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड-१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।
भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए। नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जानेसमेत उनले बताएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
