काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटनको प्रस्ताव गरेर राष्ट्रपति समक्ष पेश गरेपछि सुरुवातदेखि नै तीब्र रुपमा घटेको आइतबारको शेयर बजार परिसूचक नेप्से राष्ट्रपति कार्यलयबाट स्वीकृत भएपछि थप गहिरिएर अन्तत ४.७७ प्रतिशतले घटेर बन्द भएको छ ।
देश फेरि एक पटक राजनैतिक अस्थीरतातर्फ जानसक्ने आशंका गर्दै शेयर बजारका लगानीकर्ताले आफुँग भएको होल्डिङ्ग बिक्री गरेर आइतबारको बजारबाटै बाहिरिएका छन् । यसअघि प्रविधिको विकास, लाभांश सिजन र ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालयले दिएको निर्देशनले बजारले आड पाइरहेको समयमा राजनैतिक तरङ्गबाट नेप्सेमा एकैदिन ठूलो पहिरो नै गएको छ ।
जति मूल्यमा किन्ने पायो त्यति नै मूल्यमा शेयर बिक्री गरेर लगानीकर्ता बाहिरँदा नेप्से ९६.८८ अंकले घटेर १ हजार ९३५ दशमलव ६३ अंकमा झरेर बन्द भएको हो । नेप्से करिब १०० अंक घटेसँगै लगानीकर्ताको सम्पत्ति मापन गर्ने कुल बजार पूँजीकरण बिहीबारको तुलनामा १३० अर्बले घटेर २६ खर्ब २ अर्ब ३ करोड १५ लाखमा संकुचित बनेको छ ।
आजको बजारमा १९८ कम्पनीको १ करोड ४५ लाख ९ हजार ५३३ कित्ता शेयर ७९ हजार ९६७ पटक खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो इतिहासकै दोस्रो ठूलो कारोबार रकम हो । यसभन्दा अघि मंसिर १४ गते आइतबार एकैदिन ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो । त्यसको भोलिपल्ट ८ अर्ब ८६ करोड कारोबार हुँदै पुनः कारोबार घटेको थियो ।
कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये सबै सूचक ऋणात्मक बनेका छन् । अन्य उपसमुहको सूचक ८.३९ प्रतिशत बढीले घटेको बजारमा जलविद्युतको सूचक ६.६८ जीबन तथा निर्जीबन बीमा कम्पनीको सूचक पनि ५ प्रतिशत धेरैले घटेको छ ।