काठमाडौं: संसद विघटनविरुद्धको आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोग पुगेका छन् । माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेट अगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।
कान्तिपथस्थित आयोगको कार्यालयको मुख्य गेटअगाडीको मुख्य सडकमै बसेर विरोध प्रदशर्शन गरेका छन् । कान्तिपथमा पुगेर नेकपाको जुलुससभामा परिणत भएको थियो । सभालाई नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेकपाको बहुमत सदस्य प्रचण्ड माधव पक्ष नै नेकपाको आधिकारिक पक्ष भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई तलमाथि नगर्न चेतावनी दिए ।
‘खवरादार ! यो हँसिया हथौडा र निर्वाचन चिन्ह हाम्रो हो । तलमाथि गर्न पाइँदैन । संविधान हामीले बनाएका हौँ । यो संविधानमाथि कसैले हस्तक्षेप गर्न पाइँदैन,’ भट्राइले प्रतिनिधिसभाको बैठक डाक्न सभामुख अग्नि सापकोटालाई आग्रह गरे ।
उनले आफुहरु सडकमा आएको भन्दै बालुवाटारले अव केही गर्न नसक्ने बताए । उनले बालुवाटारमा छिटै हाम्रो प्रधानमन्त्री हुने दाबी समेत गरे । उनले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने भन्दै देशव्यापी बनाउने बताए ।
निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले आफुलाई आधिकारिकताका लागि दबाब दिन आन्दोनल गर्नुपरेको बताए । भट्टराईको संक्षिप्त सम्बोधनपछि नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका केही नेताहरु आयोग कार्यालय गएका थिए । तर प्रहरीले हस्तक्षेप गर्दा सवै नेताहरु आयोग छिर्न पाएनन् ।
आन्दोलनमा सहभागी कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक ‘कु’ खारेज गर ! बयलगाडा चढेर अमेरिका जा ! गणतन्त्रविरोधी मुर्दावाद,प्रतिगमनकारी मुर्दावाद,’ भन्ने नारा लगाएका थिए ।