काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर दुई वटा पार्टी बने लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने तय भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुग्ने टोलीले खासगरी नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ।
नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ।
पूर्वएमाले र पूर्वमाओवादी एक भएर करिब तीन वर्षदेखि सञ्चालन गर्ने क्रममा नेकपाभित्र पटक पटक विवाद देखिएपनि पार्टी विभाजनसम्म पुगेर नेपालमा फेरि अस्थिरता सिर्जना हुन्छ भन्ने आँकलन बेइजिङले गरेको थिएन।
उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले चार दिन नेपालमा रहने क्रममा दुवै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले अध्यक्ष नेपालसँग भेट्नका लागि समय लिएको छ’, नेकपाका अध्यक्ष माधवकुमार नेपाल निकट एक नेताले भने, ‘चिनियाँ नेताहरूको नेपाल भ्रमण चार दिन रहेको बुझिएको छ।’
गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन्। यसबीचमा बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहेका गुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत छन्।