काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् ।
आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, ‘यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’
पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले अब पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला छ ।’
नेकपा भित्र एमसिसीलाई हेर्ने विषयमा चर्को विवाद भएपनि आयोजना अगाडि बढ्ने वा नबढ्ने भन्ने विषयमा आशंका पैदा हुँदै आएको थियो । पछिल्लो पटक सत्तारुढ नेकपा दुई टुक्रामा विभाजित भएपछि अब सो परियोजनालाई अगाडि बढाउने तयारी गरिएको संकेत समेत मन्त्री रायमाझीले गरे ।
कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन तथा झण्डै १०० किलोमिटर सडक परियोजना एमसिसी मार्फत कार्यान्वयनमा जान लागेको छ । झण्डै ६५ अर्ब बराबरको लगानी त्यसमा हुनेछ ।
पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।