काठमाडौं: आइतबार सेयर बजार सूचक करिब ४० अंकले घटेर २००० अंकभन्दा मुनि आएको छ। धितोपत्र बोर्डले ब्रोकर कमिसन करिब ३३ प्रतिशतले घटाएपनि लगानीकर्तामा भने कुनै उत्साह देखिएको छैन।
सूचक घटेसँगै कारोबार रकम पनि पछिल्लो करिब एक महिनायताकै न्यून भएको छ। करिब ८० लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ।
सबै उपसूचक रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह ५२० अंक र निर्जीवन बीमा समूह २३८ अंकले घटेको छ।
२०४ कम्पनीको कारोबार हुँदा २० वटा कम्पनीको मात्रै मूल्य बढेको छ। १३ वटा कम्पनीको मूल्य स्थिर रहेकामा बाँकी सबै कम्पनीको मूल्य घटेको छ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्दा आशा लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५/५ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्ने कम्पनीमा भने विशाल बजार कम्पनी, सोल्टी होटल, ओरियन्टल होटल र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब ५/५ प्रतिशतले घटेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीमा भने नेपाल लाइफले सबैलाई उछिनेको छ। नेपाल लाइफको ६७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंकको ४० करोड, एनआइसी एसिया बैंकको २६ करोड र नेपाल पुनर्बीमा कम्पनीको २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
ब्रोकर कमिसन घट्दा लगानीकर्तालाई स्वतः ३३ प्रतिशतसम्म नाफा भए पनि बजार ओरालो लाग्दा सेयर बजारका विश्लेषकहरु नै अच्चमित भएका छन्।
राजनीतिक अस्थिरता हुन्छ की भन्ने डर थोरै भए पनि लगानीकर्ताको आत्मविश्वास बलियो देखिएको थियो। बैंक ब्याजदर घटेको अवस्थाले पनि बजारले गति लिने निश्चित नै थियो र छ। आइतबारको करेक्सन भने कुनै पनि कोणबाट स्पष्ट नभएको बजार विश्लेषक अनलराज भट्टराईले बताए।
नाफा बुक गरे भन्ने अवस्था पनि छैन। पछिल्लो २/३ हप्ताको बजार एउटै बिन्दुमा तलमाथि भइरहेको छ। बजार ओरालो लाग्ने कुनै खास कारण नदेखिएकाले आजको करेक्सन असमान्य करेक्सन हो। १/२ दिनमै बजार सकारात्मक हुन सक्ने भट्टराईको विश्वास छ।