काठमाडौँ: नेपाल राष्ट्र बैंकले मझौला ऋणीलाई लक्षित गर्दै एकमुस्ट पुनर्कर्जा वितरणका लागि प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकले यसअघि दिएको पुनर्कर्जामा साना ऋणीहरु समेटिएका थिए।
यसपाली १५ लाखदेखि ५ करोड रुपैयाँसम्म लिने ऋणीहरुका लागि पुनर्कर्जा आह्वान गरिएको छ। पुनर्कर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले माघ १६ गतेसम्म आवेदन बुझाइसक्नु पर्छ।
केही दिनमा राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई पनि पुनर्कर्जा दिने भएको छ। राष्ट्र बैंकले यसपालीबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुस्ट पुनर्कर्जा उपलब्ध गराउन थालेको छ।
राष्ट्र बैंकसँग ४२ अर्ब ५८ करोड रुपैयाँको कोष छ। यसको ५ गुणासम्म राष्ट्र बैंकले पुनर्कर्जा दिने निर्णय गरिसकेको छ। कोषको ७० प्रतिशत पुनर्कर्जा एकमुस्ट उपलब्ध गराइन्छ।
बाँकी २० प्रतिशत ब्यक्तिगत तबरमा २० करोड रुपैयाँसम्म उपलब्ध गराउन छुट्याइएको छ। बाँकी १० प्रतिशत लघुवित्तका लागि छुट्याइएको छ। पुनर्कर्जाको ब्याज दर बढिमा ५ प्रतिशत मात्र हुन्छ। यो एक बर्षसम्मका लागि चलाउन पाइन्छ।