काठमाडौँ: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ति बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छन्।
मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरूको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्।
किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताइन्।
‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरूलाई खुसी बनाउन सकिँदैन। कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौं’ भन्ने’, मन्त्री अर्यालले भनिन्, ‘तर किसानहरूले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिति राम्रो होइन। दूध उत्पादन गर्यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भीर कुरा हो। मान्छेलाई निराश बनाउने ऋण थपाउने कुरा राम्रो होइन।’
बजारको ग्यारेन्टी गर्ने गरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडि बढ्न नसकिने उनले बताइन्।
आफ्नो कार्यकालमा केही नयाँ गर्नेगरी जान कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले हिजोको नेतृत्वले जे गर्यो त्यसको निरन्तरतामात्र आजको आवश्यकता नभएको बताइन्।
सरकारले संघीय, प्रादेशिक र स्थानीय गरी ३ खालको बजारको परिकल्पना गरेको बताउदै मन्त्री अर्यालले कस्ता बजारलाई कुन बजारमा राख्ने भन्ने ढंगले मापदण्ड बनाउन निर्देशन दिइन्।
‘कस्तालाई कुन बजारमा राख्ने ? तपाईंहरू मापदण्ड बनाउनुस्। यसलाई कार्यान्वयन गर्नेगरी जाम। किसानलाई उत्साहित बनाउन यो कार्य जरूरी छ’, उनले भनिन्, ‘हाम्रो बजार हाम्रो हातमा छैन। कोभिडको बेला किसानहरूले तरकारी, फलफूल उत्पादन गरे। काठमाडौं आइपुग्दा हाम्रो बजार त अर्कैले कब्जा गरिसकेको छ। अनि किसानहरू फर्केर जाने स्थिति बन्यो। बजारको वर्गीकरण गरेर ल्याउनुस्। हाम्रो बजार हाम्रो हातमा नलिई किसानहरूको हित हुँदै हुँदैन। योजना लिएर आउनुस्। आजसम्मको तपाईंहरूको अध्ययनले के भन्छ ?’
