काठमाडौँ: चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले यही पुस मसान्तभित्र पेस गर्नुपर्ने चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण र अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण सकिएको आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ ।
संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उनकै कार्यकक्षमा भेट गरी म्याद थप लगायत विभिन्न माग राखेको हो । कोभिड १९ महामारीका कारण लेखापरीक्षण कार्यसहित सोको कार्यान्वयन चुनौतीपूर्ण देखिएको भन्दै संघले ती कानुनी प्रबन्धको समय तीन महिना थप गरी आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने समय आगामी चैत मसान्तसम्म बढाउन माग गरेको हो ।
आयकर ऐनको दफा ९५ अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ । सोही ऐनको दफा ९६ ले अघिल्लो आर्थिक वर्ष (यसपालिको हकमा आव २०७६/०७७) को लेखापरीक्षणपछिको आयकर विवरण पनि आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रै अर्थात पुस मसान्तभित्रै बुझाइसक्नु पर्छ । कम्पनी ऐन २०६३ को दफा ५१, दफा ७६, दफा ८० र दफा ९२ अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म हुन्छ ।
संघले बजेट निर्माणलाई थप प्रभावकारी बनाउन बजेट निर्माणको पहिलो चरणमै संघसँग छलफल गर्न पनि अर्थमन्त्रीलाई आग्रह गरेको छ । यसो गर्दा वित्तीय पारदर्शिता, राजस्व संकलन र राजस्वको उपयोगितामा थप विश्लेषण गर्न सकिने भन्दै अर्थ मन्त्रालय अन्तर्गतको बजेट महाशाखामा बसेर बजेटरी छलफल गर्ने व्यवस्था मिलाउन तथा संघीय सरकार अन्तर्गतका उद्योग, वाणिज्य, कर तथा राजस्वसम्बन्धी विभिन्न समिति, कार्यदलहरुमा चार्टर्ड एकाउन्टेन्ट्सकोे प्रतिनिधित्व हुने वातावरण निर्माण गर्नुपर्ने संघको भनाइ छ ।
प्रदेशस्तरको आर्थिक गतिविधि, नीति–नियम निर्माण, राजस्व परिचालन, स्रोतको बाँडफाँट लगायत कार्यमा चार्टर्ड एकाउन्टेन्ट्सको सल्लाह, सुझाव तथा उचित सहभागिता रहेको खण्डमा प्रभावकारी कार्यसम्पादन हुने भन्दै संघले त्यसमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।
