काठमाडौँ: परराष्ट्रमन्त्री बनेको करिब तीन वर्षपछि प्रदीप ज्ञवालीले पहिलो पटक भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेसँगै सरकार कामचलाउ बनिसकेपछि उनको भारत भ्रमण तय भएको हो।
धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते ज्ञवाली भारत भ्रमणमा जान लागेको जानकारी दिए।
‘हाम्रो परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस समयमा गौरीफन्टा नाकाको बारेमा छलफल हुने छ,’ प्रधामन्त्री ओलीले भने।
नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन्। तर नेपाल र भारत दुवैतर्फको परराष्ट्र मन्त्रालयले भ्रमणको विषयमा औपचारिक रुपमा केही बताएको छैन।
माघ २ मा ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग बैठक गर्ने बताइएको छ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भ्रमणको तयारी भइरहेको बताए।
‘परराष्ट्रमन्त्री ज्ञवालीले छिटै भारत भ्रमण गर्नुहुन्छ,’ आचार्यले नेपालखबरसँग टेलिफोनमा भने, ‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ भारत आउन लाग्नुभएको हो।’
आचार्यले बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा वार्ता हुने बताए। आयोगको पाँचौ बैठक २०७६ भदौमा काठमाडौँमा भएको थियो।
यसपटकको बैठकमा सीमा विवाद, कोरोनाविरुद्धको खोप, पञ्चेश्वर परियोजना, आदि प्रमुख एजेन्डा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
ज्ञवाली पहिलो द्विपक्षीय औपचारिक भ्रमणमा भारत जान लागेका हुन्। सन् २०२१ मा भारत भ्रमण गर्ने उनी पहिलो विदेशमन्त्री बन्ने छन्।