काठमाडौँ: नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण हुने भएको छ ।
सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्र हस्ताक्षर भएको छ ।
सम्झौता नुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ ।
उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न सम्झौतामामा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्विङले हस्ताक्षर गरे ।
सम्झौता अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ ।
२०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।