काठमाडौँ: व्यापार तथा निकासी प्रवर्धन केन्द्रले नेपाल ट्रेड इन्फर्मेसन पोर्टलको सुरूवात गरेको छ।
नेपालको निर्यात व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न ट्रेड इन्फरमेशन पोर्टलको शुरूवात गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले एक कार्यक्रममा पाेर्टलकाे शुभारम्भ गरे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत उक्त पोर्टल सञ्चालनमा ल्याइएको छ।
व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी संघ संस्था र सरकारी निकायहरूलाई व्यवसाय सम्बन्धी सम्पूर्ण सूचना सहज र सरल रूपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले पोर्टलको सञ्चालन गरिएको केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले जानकारी दिए।
राणाका अनुसार पोर्टलबाट व्यापार व्यवसाय गर्न अपनाउनुपर्ने विधि र प्रक्रियाबारे सबै जानकारी पाइन्छ।
विश्वको कुनै पनि कुनामा बसेर सेवाग्राहीले नेपाली निर्यातयोग्य वस्तुको माग र पोर्टलमा भएका वस्तु एवम् व्यवसायिक प्रोफाइल सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
कुनै पनि व्यवसायीले आफ्नाे निर्यात याेग्य १० वस्तुकाे प्राेफाइल पाेर्टलमा राख्न सक्नेछन्।
यसले नीति निर्माता सरकारी एवम् निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन एवम् अध्यापन गर्नेलाई सहयोग पुर्याउने केन्द्रको विश्वास छ।
पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवसाय शुरू गर्न साधारण सूचनादेखि निर्यातको लागि वस्तु बजार र त्यसका लागि आवश्यक पर्ने नीति नियम तथा प्रावधानको जानकारी दिइएको छ।
साथै निर्यातकर्ताहरू एवम् सेवा प्रदायकहरूको विवरण, निर्यातयोग्य वस्तुहरूको विवरणका साथै व्यापारसँग सम्बन्धित सूचनाहरू, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिको तथ्यांकहरू समावेश गरिएको छ।
निर्यातकर्ताले निर्यात गरिएको वस्तुको विवरण, सेवाप्रदायकको विवरण आफैं पोर्टलमा राख्नसक्ने व्यवस्था रहेकोले भविश्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ।
उक्त पोर्टलले व्यापार सहजीकरणमा सहयोग पुर्याउने मन्त्री भट्टले बताए।
सबै उद्याेगी व्यवसायीलाई पाेर्टलकाे भरपुर प्रयाेग गर्न मन्त्री भट्टले आग्रह गरे।