काठमाडौं: नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।
प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।
