काठमाडौँ: प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ।
नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकी बाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन्।
बन्दकर्ताले गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन्।
बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
अहिलेसम्म बन्द गराउँदै हिँड्ने ५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ। आमहड्तालका लागि बुधबार साँझ उक्त समूहका भातृ संगठनहरू काठमाडौंमा मसाल जुलुस निकालेका थिए।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध विभिन्न आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल समूहले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूको सपथ भएपछि हड्ताल आयोजना गरेको हो।
