काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट निवेदन दायर गर्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्।
शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरसंवैधानिक रुपमा गरिएको नियुक्ति खारेज गर्न माग गर्दै उनले रिट निवेदन दायर गरिसकेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।
‘सभामुखज्यू अहिले सर्वोच्च आइपुग्नुभएको छ, उहाँले संवैधानिक निकायहरुमा गरिएका नियुक्तिको विषयमा रिट निवेदन दिनुभएको छ,’ न्यौपानेले बताए।
सभामुखसहित शशी श्रेष्ठ, रेखा शर्मा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायतका विघटित प्रतिनिधि सभाका सांसदहरु पनि सर्वोच्च पुगेका छन्।
रिट निवेदनमा राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइएको छ।
सभामुख सापकोटाले केही समयपछि पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने बताइएको छ।
सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए।
यसको विरोधमा नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजले समेत विरोध जनाउँदै आएका छन्।