काठमाडौं: राष्ट्रिय सहकारी बैंकले मात्रै सहकारी संस्थाहरुमा वित्तीय लगायतका सेवा प्रवाह गर्न नसकेको भन्दै सरोकारवालाहरुले नेपाल सहकारी बैंक दर्ताको प्रस्ताव अघि सारेका छन्।
नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना लगायत आवेदक संस्थाका प्रतिनिधिहरु आईतबार राष्ट्रिय सहकारी विभागमा सहकारी बैंक स्थापनाको प्रस्ताव लिएर पुगेका हुन्।
एक मात्रै सहकारी बैंकले समग्र मुलुकभरका सहकारी संस्थालाई सेवा दिन नसक्ने भएकाले थप ५ वटा सहकारी बैंकको आवश्यकता रहेको विस्तृत अध्ययन प्रतिवेदन सहित उनीहरु सहकारी बैंक दर्ताका लागि आवश्यक कागजात लिएर सहकारी बोर्ड पुगेका हुन्।
तर विभागले बैक दर्ता बारे प्राप्त कागजात अध्ययन पछि मात्रै निर्णय दिने जनाएको छ। विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारी ऐन २०७४ ले गरेको व्यवस्था अनुसार आवश्यक प्रमाण पुगेमा आफुहरुले दर्ता प्रक्रिया नरोक्ने बताए।
उनले अध्ययन तथा अभिलेख प्रयोजनका लागि तत्काल बैंक दर्ताको निवेदनलाई विभागले ग्रहण गरेको जानकारी दिए।
