कर्णाली, २ फागुन (रासस) :
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गर्नुभएको छ । “आफ्नो कार्य व्यस्तताका कारण मनखुशीले मैले मुख्यमन्त्रीसमक्ष राजीनामापत्र पेश गरेको छु”, उहाँले भन्नुभयो, “स्वीकृत गर्ने/नगर्ने उहाँको हात हो ।”
यद्यपि मुख्य न्यायाधिवक्ता मानन्धरले सामाजिक सञ्जालबाट समेत आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । आफ्नो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने कारण खुलाउँदै पदबाट राजीनामा दिएको बताउनुभएका उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकार एवं सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
उहाँले आफ्नो पदीय जिम्मेवारीमा रहेर दुई वर्ष १० महिनाको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकामा आफूलाई गौरवान्वित ठानेको कुरा व्यक्त गर्नुभएको छ । उहाँ मुख्य न्यायाधिवक्ताको पदमा ०७४ साल चैत २८ गते नियुक्त हुनुभएको थियो ।